काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूको कार्यशैली र संसद्मा प्रस्तुत हुने शैलीबारे आन्तरिक समीक्षा गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूको संसद्भित्रको व्यवहार, भाषा र प्रस्तुतिबारे चासो राखेका थिए।
पछिल्लो समय प्रतिनिधिसभामा हुने प्रश्नोत्तर तथा छलफलका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण वा रुखो शैलीमा जवाफ दिने गरेको भन्दै आलोचना हुँदै आएको छ। त्यस्तै, आफ्ना माग तथा विषय सम्बोधन नभएपछि केही सांसदले पनि संसद्मा अमर्यादित र आक्रोशपूर्ण अभिव्यक्ति दिने गरेका छन्।
यही पृष्ठभूमिमा रास्वपाले संसद्मा पार्टीका सांसद तथा मन्त्रीहरू कसरी जिम्मेवार, प्रभावकारी र मर्यादित रूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको हो।
बैठकमा संसद्को गरिमा कायम राख्दै जनताका समस्या र सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने तथा सरकारका कामकारबाहीलाई परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
सांसद तथा मन्त्रीहरूको प्रस्तुतिलाई थप व्यवस्थित बनाउँदै संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पार्टी नेतृत्वले विशेष चासो दिएको जनाइएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया