काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेशमा जिल्ला तथा प्रदेश अधिवेशन अघि संगठनको अवस्था मूल्याङ्कन गर्न ‘अडिट’ समिति गठन गरेको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिए।
समितिमा मधेस प्रदेशबाहेक अन्य प्रदेशका केन्द्रीय सदस्यहरूलाई समेटिएको छ। समितिले मधेसमा हुने जिल्ला तथा प्रदेश अधिवेशनअघि पार्टीको संगठनात्मक अवस्था, संरचना तथा गतिविधिको अध्ययन गर्नेछ।
बैठकले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई ४६० गाउँपालिकामा परिचालन गर्ने निर्णयसमेत गरेको छ। उनीहरूले स्थानीय तहमा उम्मेदवार छनोटको रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन्।
उक्त अभियानको संयोजन गर्ने जिम्मेवारी सहमहामन्त्री निशा डाँगीलाई दिइएको छ।
यसैगरी रास्वपाले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। पार्टीका गतिविधि, विचार तथा समसामयिक राजनीतिक विषयलाई समेटेर डिजिटल पत्रिका प्रकाशन गर्ने तयारी गरिएको हो।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया