काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।
सामान्य छलफल तथा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावमाथि विचार गर्दै थप छलफल र परिमार्जनका लागि विधेयकहरू सम्बन्धित समितिमा पठाउने निर्णय भएको हो।
बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सदनले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभाले पारित गरेको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव पनि बैठकबाट स्वीकृत भएको छ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सो प्रस्तावसमेत सदनले अनुमोदन गरेको छ।
अब चारवटै विधेयक सम्बन्धित संसदीय समितिमा जानेछन्। समितिमा विधेयकका प्रावधान तथा सांसदहरूले प्रस्ताव गरेका संशोधनमाथि विस्तृत छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिवेदन तयार गरिनेछ।
यसअघि सोमबारको बैठकको प्रारम्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
चारवटै विधेयक समितिमा पठाउने कार्यसूची सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया