काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकलाई मात्र नभई सम्पूर्ण नेपालीलाई गहिरो पीडा दिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै थुप्रै परिवारका प्रियजन खोसेर लगेको भन्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

उनले भने, ‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै कयौँका आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो। यो पीडा रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।’

प्रधानमन्त्री शाहले विपद्को यो कठिन परिस्थितिमा सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे। प्राकृतिक विपत्तिविरुद्ध संघर्ष गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले सरकार सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा जुटिरहेको बताए।

‘यो विपद्सँग लड्नुको हामीसँग कुनै विकल्प थिएन, र हामी निरन्तर लडिरहेका छौँ,’ उनले भने।

प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई तीव्रता दिइएको छ। प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले ठोस योजना बनाएर काम अघि बढाइरहेको उनले जानकारी दिए।

विपद्को सामना कुनै एक दल वा सरकारको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबै राजनीतिक दल, सरोकारवाला निकाय र आमनागरिकलाई एकताबद्ध भएर राष्ट्रिय संकटको सामना गर्न आग्रह गरे।

उनले विपद्को घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको जीवन रक्षा, राहत र पुनर्निर्माणलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com