काठमाडौं । श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आफ्नो पार्टी श्रमदानसहित आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारसँग राजनीतिक तथा नीतिगत विषयमा मतभेद भए पनि राष्ट्रिय विपद्को यस्तो कठिन घडीमा सबै पक्ष एकजुट हुनुपर्ने बताए।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आफ्नो दलका स्वयंसेवक तथा श्रमदातालाई परिचालन गर्न सरकार तयार भए पार्टीले आवश्यक जनशक्ति उपलब्ध गराउन सक्ने प्रस्ताव गरे।
सांसद राईले विपद् व्यवस्थापनका क्रममा विभिन्न सरोकारवाला निकायबीच पर्याप्त समन्वय हुन नसकेको र प्रभावित नागरिकबाट उद्धार तथा राहतमा ढिलाइ भएको गुनासो आइरहेको बताए।
उनका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण र दक्ष जनशक्तिको पूर्ण क्षमतामा परिचालन हुन सकेको छैन।
“सरकारको आलोचना भोलि गरौँला, अहिले पीडितको पीडा कम गर्ने समय हो,” उनले भने, “प्रभावित नागरिकले पर्याप्त राहत नपाएको गुनासो गरिरहेका छन्। यो राहतको ढोका बन्द गर्ने होइन, अझ फराकिलो बनाउने समय हो।”
राहत वितरणलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले पीडित परिवारको मानवीय संवेदनालाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।
“आफ्ना प्रियजन गुमाएका परिवारलाई शवको अन्तिम संस्कार र सम्मानपूर्वक बिदाइ गर्ने अवसर सुनिश्चित गरिनुपर्छ,” उनले भने।
सांसद राईले यति ठूलो विपद्को सामना गर्न मुलुकको आन्तरिक स्रोत–साधन मात्र पर्याप्त नहुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले तत्काल पहल गर्नुपर्ने बताए।
जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई ध्यानमा राख्दै जलवायु कोष तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रबाट सहायता र क्षतिपूर्ति प्राप्त गर्न कूटनीतिक पहल तीव्र बनाउनुपर्ने उनको भनाइ थियो।
उनले भविष्यमा यस्तै प्रकृतिको अर्को हिमबाढी वा प्राकृतिक विपद् आउन सक्ने जोखिम रहेको उल्लेख गर्दै त्यसअघि राज्यले पूर्वतयारी, पूर्वसूचना प्रणाली र आवश्यक संरचना निर्माणमा कति गम्भीरता देखाउँछ भन्ने नै अबको मुख्य परीक्षा हुने बताए।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार












प्रतिक्रिया