काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सरकारका तीनवटै तहसहित सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यतामाथिकै गम्भीर कलंकका रूपमा व्याख्या गरेका छन्। उनले यो समस्या सीमित क्षेत्र वा मुलुकमा मात्र नभई संगठित अपराधका रूपमा विश्वभर फैलिँदै गएको उल्लेख गरेका छन्।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, स्वरूप, प्रकृति र गन्तव्यसमेत परिवर्तन हुँदै गएको बताएका छन्।
उनका अनुसार बदलिँदो परिस्थितिमा मानव बेचबिखन नियन्त्रणका लागि परम्परागत प्रयास मात्र पर्याप्त नहुने भएकाले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगसँगै नागरिकस्तरमा समेत व्यापक सचेतना आवश्यक छ।
प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत र संस्थागत सुधारलाई निरन्तरता दिइरहेको जानकारी दिएका छन्।
यस अभियानलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, सुरक्षा निकाय र अन्य सम्बन्धित सरोकारवालाबीच सहकार्य भइरहेको उनको भनाइ छ।
उनले मानव बेचबिखनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सरकारको प्रयाससँगै समाजका हरेक तह र वर्गको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले भनेका छन्, ‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सम्भव हुनेछ।’
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबै निकाय तथा व्यक्तिप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा पनि सरकारको अभियानमा साथ, सहयोग र ऐक्यबद्धता कायम राख्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया