काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्।

रसुवाको धुञ्चेबाट मानसरोवरतर्फ जाने क्रममा उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर रहेका छन्।

भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा पुगेका रञ्जित श्रीधरणले चारै जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिन आग्रह गरेका छन्।

उनका अनुसार बेपत्ता चारै जनाको मोबाइलको अन्तिम ‘लोकेसन’ स्याफ्रुबेँसीस्थित रोयल हिमालयन होटल देखिएको थियो। उनीहरूको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको र परिवार चिन्तित बनेको उनले बताए।

“सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ। आफ्ना आफन्तको अवस्थाबारे जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ,” रञ्जितले भने।

उनले सम्बन्धित सबै निकाय तथा स्थानीयवासीलाई आ–आफ्नो स्तरबाट खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन्।

नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले पनि अयर परिवारका सम्पर्कविहीन सदस्यको खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

“रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहनुभएको छ,” उनले भने, “हामीले स्थानीयस्तरमा आवश्यक खोजीका लागि सहजीकरण गर्दै आइरहेका छौँ।”

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com