रामेछाप । वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई रामेछापबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली घ्याङलेक–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर तहतराज तथा धनकुटा बेलाहारा–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन्।

प्रहरीका अनुसार उनीहरूले १८ भदौको राति खाँडादेवी–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई प्लास्टिकको टेपले मुख बाँधेर तथा आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि वृद्ध दम्पतीको घरबाट नगद तथा गरगहना लुटेर लगेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ परेकाहरूबाट नगद, मोबाइल, मोटरसाइकल, ज्याकेट, हाफ कट्टु, सुनजस्तो देखिने औँठी, बुद्धचित्तका २२ दाना तथा अन्य सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुमन निजी विद्यालयका चालक, दीर्घराज बसका सहचालक, पशुपति इनड्राइभ चालक र पिताम्बर सुनचाँदी व्यवसायी हुन्। गुणराजको साथबाट दुई थान सुनका रिङ बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरू यसअघि पनि चोरी तथा अन्य आपराधिक घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। पशुपति रामेछापको महादेव मन्दिरको दानपेटिका फुटाएर चोरी गर्नुका साथै खसी तथा बोका चोरीमा समेत संलग्न रहेको पाइएको छ।

यस्तै, यही समूहले १८ भदौकै बिहान सुनापति–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको समेत खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीविरुद्ध यसअघि अभद्र व्यवहार, जुवा तथा काठमाडौंमा सिक्री लुटपाटसम्बन्धी मुद्दासमेत चलेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com