हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा पाँच जना प्रदेशसभा सदस्यलाई पदबाट हटाउन सिफारिस गरेको छ।

राप्रपा संसदीय दलले पार्टीको निर्देशनविपरीत प्रदेशसभा बैठकमा अनुपस्थित भएको आरोप लगाउँदै पूर्वसभामुखसमेत रहेका भुवनकुमार पाठकसहित पाँच सांसदलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्न सभामुखसमक्ष औपचारिक सिफारिस गरेको हो।

राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउँदै पाठकसहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई पदबाट हटाउन माग गरेका छन्।

संसदीय दलको कार्यालयका अनुसार गत भदौ २ गते बसेको दलको बैठकले राप्रपा बागमती प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

त्यसपछि मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने विषयमा भदौ ७ गते बसेको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको थियो।

तर, कारबाही सिफारिसमा परेका पाँच सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएको र यसबाट पार्टीको ह्विप उल्लङ्घन भएको संसदीय दलको दाबी छ।

ह्विप उल्लङ्घन गरेको आरोपमा राप्रपा तथा संसदीय दलको विधान, २०७९ अनुसार कारबाही किन नगर्ने भन्दै भदौ १७ गते बसेको दलको बैठकले ती सांसदसँग ७२ घण्टाभित्र स्पष्टीकरण माग गरेको थियो।

तोकिएको समयभित्र कुनै पनि सांसदले स्पष्टीकरण नदिएपछि संसदीय दलले उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमार्फत कारबाहीसम्बन्धी निर्णयको औपचारिक जानकारी सभामुखलाई गराइएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com