नुवाकोट । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि नुवाकोटको वेत्रावतीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वेत्रावतीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडितलाई लक्षित गरी सिक्किमबाट आएको चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो।
स्वास्थ्य शिविरबाट होल्डिङ सेन्टरमा रहेका ६४ घरपरिवार लाभान्वित भएका छन्। शिविरमा बाढी प्रभावितहरूको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
सिक्किमबाट आएको सात सदस्यीय टोलीमा चार जना चिकित्सक सहभागी थिए। टोलीमा गायिका समेत रहेकी डा. त्रिशला गुरुङ लगायतका चिकित्सकहरू सहभागी रहेको जनाइएको छ। टोलीको नेतृत्व अदिप तामाङले गरेका छन्। तामाङ सिक्किम तामाङ बुद्धिष्ट एसोसिएसनका महासचिव समेत हुन्। नेपाल आएको उक्त स्वास्थ्य टोलीले वेत्रावती होल्डिङ सेन्टरमा रहेका बाढीपीडितहरूको स्वास्थ्य उपचार गरेको हो।
टोलीले आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्रीसमेत सिक्किमबाट लिएर आएको भए पनि ती सामग्री सीमा नाकामै रोकिएका कारण स्वास्थ्य शिविरका लागि आवश्यक औषधिहरू काठमाडौंबाट व्यवस्था गरेर वेत्रावती पुर्याइएको थियो।
भीषण बाढीपछि विस्थापित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावित परिवारका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरले तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया