रसुवा । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएका आफन्तको खोजीमा जुम्लाबाट रसुवा पुगेका परिवारजन ११ दिनसम्म भौतारिए पनि कुनै खबर नपाएपछि निराश भएर फर्किएका छन्।
जुम्लाको गुठीचौर गाउँपालिका–१ का सर्पसिंह महतारा आफ्ना दुई भाइ दिनेश महतारा र अङ्गद बुढाको खोजीमा भदौ १३ गतेदेखि धुन्चे र आयोजनाको आसपासमा बसेका थिए। तर, ११ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेन।
“आफन्तको न सास भेट्यो न त लास,” महताराले भने, “अब घरमा परिवारलाई के भन्ने होला ?”
त्यस्तै, पातारासी गाउँपालिकाबाट आफ्ना भतिज कुमार बोहराको खोजीमा रसुवा पुगेका कालीबहादुर बोहरा पनि ११ दिनसम्म खोजी गर्दा कुनै खबर नपाएपछि फर्किएका छन्। उनका अनुसार आयोजनाले बेपत्ता कामदारको खोजी अपेक्षाकृत प्रभावकारी ढङ्गले गर्न नसकेको आफन्तको गुनासो छ।
इप्पानका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाबाट अझै ५३८ जना सम्पर्कविहीन छन्। आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७८ जनाको उद्धार भएको र सात जनाको शव फेला परेको छ। सम्पर्कविहीनमा नौ कोरियाली, ३४ चिनियाँ, ५० भारतीय र बाँकी नेपाली नागरिक छन्।
बेपत्ता हुनेमा मुख्य निर्माण ठेकेदार पावर चाइनाका ३८५, एन्ड्रिज हाइड्रोका ९४, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५, डुसानका ५६ र जेड कन्सल्टका सात जना रहेको इप्पानले जनाएको छ।
बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँधलगायत मुख्य संरचना, कार्यालय तथा आवास क्षेत्र पूर्ण रूपमा बगाएको कम्पनीले जनाएको छ। अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो आयोजनास्थलमा प्रवेश गरेकाले अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानमा जान नसकेको कम्पनीको भनाइ छ।
प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार












प्रतिक्रिया