धनगढी । सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुपप्र ०१-००१ झ ०३९७ नम्बरको गाडीलाई निषेधित समयमा सरकारी सवारीसाधन प्रयोग गरेको कसुरमा ५ सय रुपैयाँ जरिवाना गरेको हो। गाडीमा राज्यमन्त्री कुँवर भने सवार नरहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत पहिलोपटक उक्त जरिवाना गरिएको हो।
प्रहरीका अनुसार सार्वजनिक बिदाका दिन राज्यमन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएका थिए।
कैलाली ट्राफिक प्रहरीले यसअघि सरकारी निवासमै हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि जरिवाना गरेको थियो। लापरबाहीपूर्वक सवारी चलाएको भन्दै शीतल गिरीमाथि पनि कारबाही गरिएको थियो।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया