काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान साढे ११ बजेपछि बैठक सुरु भएको हो । बैठकमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र व्यवस्थापनका विषयमा गत भदौ ११ गते बसेको सर्वदलीय बैठकले १० बुँदे सङ्कल्प गरेको थियो । त्यसपछि भदौ १५ गते दोस्रो तहका नेताहरूको सर्वदलीय बैठकले उक्त सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू सहभागी छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com