काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र इतर समूहले राखेका मागहरू सम्बोधन भइसकेको बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पूर्णबहादुर खड्काले राखेका ८ तथा शेखर कोइरालाले अघि सारेका ५ बुँदे माग सम्बोधन भइसकेको दाबी गरेका हुन् ।
पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूले सक्ने सबै प्रयास गर्न तयार रहेको बताउँदै उनले पूर्वपदाधिकारी तथा असन्तुष्ट पक्षका नेताहरूलाई समेत आगामी महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
बिहीबारको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरू पनि सहभागी भएका छन् ।
थापाले पूर्वसभापति देउवालाई वडा अधिवेशनमा सहभागी हुन आग्रह गरे । आगामी ३ र ४ गतेबाट वडा अधिवेशन सुरु हुने उल्लेख गर्दै उनले देउवाले आएर उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने बताए ।
‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ । उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ,’ थापाले भने ।
उनले कांग्रेसको विधानअनुसार देउवा अब सभापति बन्ने अवस्थामा नरहेको उल्लेख गर्दै पार्टीको नेतृत्व हस्तान्तरणको प्रक्रियामा सबैको सहभागिता आवश्यक रहेको बताए ।
‘यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो,’ थापाले भने ।
सभापति थापाले पार्टीभित्र रहेका असन्तुष्टि र माग सम्बोधन भइसकेकाले अब महाधिवेशन प्रक्रियामा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिए । उनले पूर्वपदाधिकारीहरूलाई समेत अधिवेशनमा सहभागी भएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरे ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया