काठमाडौं । सरकारले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गरिएका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिससहित पाँच वटा निर्णय गरेको छ ।
प्रस्तावित राजदूत
मन्त्रिपरिषद्ले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरेको छ ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि गौरवशमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएका छन् ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि राजदूतका लागि सिफारिस गरिएको छ ।
सरकारले सिफारिस भएका राजदूतको नाम संसदीय सुनुवाइका लागि संसद्समक्ष पठाउनेछ ।
नागरिकता नियमावली स्वीकृत
बैठकले नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
मौसम विज्ञान विभाग ऊर्जा मन्त्रालयअन्तर्गत
यसअघि कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
विद्युत् प्राधिकरणको ईडीमा दीर्घायु श्रेष्ठ
नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ ।
रुद्रसिंह तामाङ सचिवमा बढुवा
त्यस्तै, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया