गोरखा । गोरखामा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–२, काउलेकी ८१ वर्षीया लालमाया गुरुङ रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब साढे १० बजे सिरानचोक गाउँपालिका–थालाजुङस्थित भित्री सडकखण्डमा भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिप सडकको नालीमा खसेर भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का करिब ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका छन्।
त्यस्तै सिरानचोक–६, सिम्लेककी ६८ वर्षीया सीता गुरुङ तथा वडा नम्बर ७, डाँडागाउँकी २७ वर्षीया रेजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि घाइते भएका छन्।
घाइते सबैको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जिप र चालक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया