काठमाडौं । दाङको घोराहीकी १२ वर्षीया बालिका एचपीभी खोप लगाएपछि गम्भीर स्वास्थ्य समस्यामा परेको भन्दै नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिद्दिकीले कक्षा ६ मा अध्ययनरत आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनको उपचार र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेकी हुन्।
उनका अनुसार एचपीभी खोप लगाएलगत्तै बालिकाको स्वास्थ्यमा जटिलता देखिएको थियो। गम्भीर बिरामी भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनसम्म भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गरिएको थियो।
हाल बालिका घर फर्किए पनि उनको हातखुट्टा चल्न नसक्ने अवस्था रहेको सांसद सिद्दिकीले सदनलाई जानकारी गराइन्।
उनले स्वास्थ्य मन्त्रालयले घटनाबारे निष्पक्ष र प्रभावकारी छानबिन गरी बालिकाको स्वास्थ्य अवस्थाको कारण यकिन गर्नुपर्ने बताइन्। साथै, पीडित परिवारलाई आवश्यक उपचार, स्वास्थ्य सेवाको निरन्तरता र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।
सांसद सिद्दिकीले रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारको अवस्थाबारे पनि सरकारसँग जवाफ मागिन्। अझै ठूलो संख्यामा बेपत्ता नागरिकको अवस्था स्पष्ट हुन नसक्नु दुःखद् भएको भन्दै उनले खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
यसैगरी, उनले मुलुकमा बढिरहेको महँगी र नागरिकले भोगिरहेको आर्थिक संकटप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। दैनिक उपभोग्य वस्तुसहित हरेक क्षेत्रको मूल्यवृद्धिका कारण नागरिक थप आर्थिक समस्यामा परेको उनको भनाइ थियो।
‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन्,’ उनले भनिन्।
सांसद सिद्दिकीले पछिल्लो समय बढिरहेका आत्महत्याका घटनाप्रति पनि सरकार गम्भीर हुनुपर्ने बताइन्। नागरिकले आत्महत्या गर्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने विषयमा अध्ययन गरी रोकथामका लागि ठोस योजना ल्याउन उनले सरकारसँग माग गरिन्।
‘आत्महत्याका घटना किन बढिरहेका छन्? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदैछ?’ उनले प्रश्न गरिन्।
देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले नागरिकका समस्या समाधानका लागि स्पष्ट र ठोस योजना ल्याउनुपर्ने तथा जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने सांसद सिद्दिकीको भनाइ थियो।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया