काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन तथा सहज आवतजावतका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।
मन्त्री लम्सालले करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा आवतजावत सहज बनाउनुपर्ने विषयसँगै कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि समेत चीनको सहयोग र समन्वयको आग्रह गरेका छन्।
भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै उनले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको व्यवस्था मिलाउन नेपाल सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए।
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री लम्सालले त्यसका लागि आवश्यक समन्वय गर्न राजदूत वाङसँग आग्रह गरे।
मन्त्री लम्सालले काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा आवश्यक स्थानमा ट्रयाक खोल्ने कामसमेत अघि बढाइएको जानकारी दिए। उक्त कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि पनि उनले आग्रह गरेका छन्।
भेटमा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपाललाई असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको बताए।
रसुवागढी नाका नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले यसको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका विषयमा चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया