काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा कानुन निर्माणसँगै आम नागरिकका जनजीविकासँग सम्बन्धित विषयलाई पनि प्राथमिकताका साथ उठाइएको बताएका छन्।
अधिवेशन समापनपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले यस अवधिमा कानुन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिएको बताए। उनका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका तीन विधेयकमध्ये दुईवटा सर्वसम्मत र एउटा बहुमतका आधारमा पारित गरी सदनमा प्रतिवेदन पेस गरिएको थियो।
तीमध्ये दुईवटा विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन् भने अर्को विधेयक पनि पारित हुने प्रक्रियामा रहेको उनले जानकारी दिए।
‘कानुन निर्माणका सन्दर्भमा यो अधिवेशनमा प्रस्तुत भएका विधेयकहरू त्यसमै केन्द्रित थिए,’ ढकालले भने।
कानुन निर्माणसँगै अधिवेशनमा जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयले पनि पर्याप्त प्राथमिकता पाएको उनले बताए। सत्तापक्ष र प्रतिपक्षको राजनीतिक सीमाभन्दा माथि उठेर आम नागरिकका सरोकार संसद्मा प्रस्तुत भएको उनको भनाइ थियो।
‘जनजीविकाका विषयमा सत्तापक्ष वा प्रतिपक्ष भन्ने छाया नदेखिने गरी आम नागरिकका विषयहरू उठे। कतिपय सन्दर्भमा यो नौलो पनि देखियो,’ उनले भने।
ढकालले लोकतन्त्रको महत्वपूर्ण पक्षका रूपमा प्रतिपक्षका आवाजलाई संसद्ले सुन्नुपर्ने बताए। संसद्मा सिर्जनात्मक बहस र राजनीतिक कटाक्ष स्वाभाविक भए पनि प्रतिपक्षले सरकारलाई रचनात्मक ढङ्गले खबरदारीसमेत गरेको उनको भनाइ थियो।
‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै प्रतिपक्षका आवाजलाई प्रतिनिधिसभा र संसद्ले सुन्नु हो। यसबीच सिर्जनात्मक बहस र कटाक्ष एउटा पक्ष भए पनि प्रतिपक्षबाट सरकारलाई कटाक्षबाहेक रचनात्मक खबरदारीसमेत भयो,’ उनले भने।
हिउँदे अधिवेशन चलिरहेका बेला देशले विपद् तथा महाविपद्को सामना गर्नुपरेको पनि ढकालले बताए। विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति, उद्धार तथा व्यवस्थापनका विषय संसद्मा उठाइएको उनले जानकारी दिए।
‘विपद् मात्रै होइन, राज्य र देशले महाविपद्को सामना गर्नुपर्यो। रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति र त्यसपछिको व्यवस्थापनलगायतका विषय संसद्मा उठे,’ उनले भने।
उनका अनुसार छोटो अवधिको अधिवेशन भए पनि विपद्का कारण उत्पन्न जटिल परिस्थितिसहित जनताका विभिन्न सरोकारका विषयमा संसद्मा छलफल भएको थियो।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया