काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसको नयाँ नेतृत्वप्रति शुभकामना दिँदै थापाको नेतृत्वलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गरे।
काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा आफ्नो दोस्रो प्रधानमन्त्री कार्यकाल स्मरण गर्दै उनले त्यतिबेला गगन थापा स्वास्थ्य मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री रहेको बताए।
‘यो मञ्चमा अहिलेको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ, जो मेरो क्याबिनेटमा गृहमन्त्री हुनुहुन्थ्यो। गगन थापाजी स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो,’ प्रचण्डले भने।
थापाको राजनीतिक क्षमता आफूले त्यतिबेलै पहिचान गरेको उल्लेख गर्दै उनले एक दिन थापा देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने आफूले बताएको स्मरण गरे।
‘मैले उतिबेलै गगनजीको क्षमता देखेर भनेको थिएँ, तपाईं एकदिन यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्नुहुनेछ। आज त्यो अवस्था आएको देख्दा बधाई दिन चाहन्छु,’ उनले भने।
प्रचण्डले पछिल्लो समय नयाँ पुस्ताका नाममा पाका तथा वृद्ध नेताहरूलाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। समाजको विकासमा सबै पुस्ताको भूमिका रहने भएकाले पुस्ताका आधारमा विभेद वा अपमान गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार नभएको उनको भनाइ थियो।
‘अहिले नयाँ भन्नेहरूले बूढापाका र वृद्ध नेताहरूलाई अपमानित गर्ने खालको प्रवृत्ति देखाएका छन्। तर समाज वृद्ध, प्रौढ र युवा मिलेर मात्र चल्छ। हामी लोकतन्त्रवादीहरूले त्यस्तो सस्तो र अराजक प्रवृत्ति देखाउनुहुँदैन,’ उनले भने।
उनले मुलुकको लोकतन्त्र, संविधान र गणतन्त्र संकटमा परेको दाबी गर्दै वर्तमान सरकारका गतिविधिले देशलाई स्वेच्छाचारिता र अराजकतर्फ लैजाने खतरा रहेको बताए।
यसैगरी, विस्तृत शान्ति सम्झौताका अर्का प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला भौतिक रूपमा नरहेको स्मरण गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी अब कांग्रेस सभापति थापाको काँधमा आएको बताए।
शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ताका रूपमा आफूले थापालाई बाँकी कार्यभार पूरा गर्न विशेष आग्रह गरेको उनले बताए।
‘जीवित हस्ताक्षरकर्ताको नाताले बाँकी काम पूरा गर्ने जिम्मेवारी म गगन थापाजीलाई विशेष रूपमा आग्रह गर्न चाहन्छु,’ प्रचण्डले भने।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार











प्रतिक्रिया