काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त रहेका प्रमुख पदाधिकारीमा प्रधानमन्त्री बालेन्द्र शाहनिकट दुई नेतालाई जिम्मेवारी दिने तयारी गरेको छ।

रास्वपाले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाई उपसभापति र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ।

पार्टीभित्र लामो समयदेखि भएको आन्तरिक छलफलपछि सभापति रवि लामिछानेले यी नाम अघि बढाउने तयारी गरेका हुन्। प्रस्तावित मनोनयनलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र औपचारिकता पाउनेछ।

गत असारमा भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम तथा महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका थिए।

रास्वपाको संशोधित विधानले १९ सदस्यीय पदाधिकारी संरचनाको व्यवस्था गरेको छ। सभापतिलाई केन्द्रीय सदस्यहरूमध्येबाट थप पदाधिकारी मनोनयन गर्ने अधिकार दिइएको छ।

यसअघि उपसभापति र महामन्त्री पदका लागि वरिष्ठ नेता बालेन्द्र शाहको सिफारिसमा नाम तय गर्ने आन्तरिक सहमति भए पनि मनोनयन प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

लम्सालले सरकारमा पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् भने कुमार बेन प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार हुन्।

प्रस्तावित मनोनयन अनुमोदन भए रास्वपाको बाँकी पदाधिकारी संरचनाले पूर्णता पाउनेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com