धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला मात्रै मत माग्न घरदैलो पुग्ने परम्पराभन्दा फरक रूपमा नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ।
धादिङबेँसीबाट सुरु भएको अभियानमा रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले नागरिक र राजनीतिक दलबीच निरन्तर संवाद आवश्यक रहेको बताए।
चुनावमा मात्रै मतदाताको घरदैलो पुग्ने प्रवृत्तिको अन्त्य गर्दै नागरिकका दैनिक समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन अभियान थालिएको उनले बताए। घरदैलोबाट संकलन गरिएका सुझावलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन प्रयोग गरिने उनको भनाइ छ।
धादिङ आउने क्रममा खरेलले बाढीबाट क्षति पुगेका सडक तथा पुलको निरीक्षण गर्दै पुनर्निर्माणमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरे।
अभियानमा सांसद बसुमाया तामाङ, डा. राम लामा र केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्। रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार टोलीले जिल्लाका विभिन्न स्थानीय तह र टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया