भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले जारी पुँजीको ३० प्रतिशत बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले १६ लाख २० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ।
कम्पनीको ११औँ वार्षिक साधारणसभा गत असोज २० गते मंगलबार सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न भएको हो। सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाएको कम्पनीले जनाएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको व्यवस्थित विकासमा रिसोर्टको भूमिका महत्वपूर्ण हुने बताए।
सभामा सञ्चालक बुद्धिप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक डोरबहादुर भण्डारीले कम्पनीको भावी व्यावसायिक रणनीतिबारे जानकारी गराएका थिए। सभाको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता प्राणनाथ न्यौपाने रहेका थिए। कार्यक्रमको सञ्चालन वित्तीय परामर्शदाता हरिकृष्ण दाहालले गरेका थिए।
साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोखरेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष र टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालक चयन गरेको कम्पनीले जनाएको छ।
सन् २०१५ अर्थात् २०७२ सालदेखि सञ्चालनमा रहेको रिसोर्ट निरन्तर नाफामा रहेको कम्पनीको दाबी छ। आईपीओबाट प्राप्त हुने पुँजीलाई रिसोर्टको विस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नति गर्न उपयोग गर्ने योजना कम्पनीले अघि सारेको छ।
योजनाअनुसार रिसोर्टमा थप आवासीय कोठा निर्माण गर्नुका साथै स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल र मनोरञ्जन क्षेत्र विस्तार गरिनेछ। यी सुविधाको विकासमार्फत आतिथ्य सेवाको गुणस्तर बढाउने र पर्यटकलाई थप आकर्षित गर्ने लक्ष्य कम्पनीले लिएको छ।
कम्पनीले पर्यटन व्यवसायसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ। आगामी वर्षहरूमा व्यवसाय विस्तारमार्फत शेयरधनीलाई प्रतिफल उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
डोलेश्वर महादेव मन्दिर तथा आसपासका धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षणलाई आतिथ्य सेवासँग जोडेर डोलेश्वर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु कम्पनीको दीर्घकालीन रणनीति रहेको छ।
आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजी र प्रस्तावित पूर्वाधार विस्तारले रिसोर्टको सेवा क्षमता बढाउनुका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा कम्पनीले गरेको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया