काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनमा प्रयोग हुने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा भेटिएका अवस्था तथा उपभोक्ताबाट प्राप्त गुनासो र सूचनाका आधारमा विभागले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार केही खाद्य व्यवसायी तथा उत्पादन इकाइले वनस्पति घिउ, बेकरी सर्टेनिङ, प्रशोधित घिउ तथा तेलमा वासना, प्याराफिन, खनिज तेल र अन्य रासायनिक पदार्थ मिसाएर धार्मिक प्रयोजनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको पाइएको छ ।

यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध, प्याकेजिङ र प्रस्तुतिको शैली बजारमा पाइने खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानपानमा प्रयोग गर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ ।

विभागले खाद्य उद्योगको अनुमतिपत्र लिएका उत्पादकलाई समेत धार्मिक प्रयोजनका लागि बनाइने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन र बिक्री नगर्न निर्देशन दिएको छ ।

लेबलमा ‘खानको लागि होइन’ लेख्नुपर्ने

विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि उत्पादन गरिने चिल्लो पदार्थको लेबलमा अनिवार्य रूपमा ‘खानको लागि होइन’ भन्ने वाक्यांश राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त वाक्यांश लेबलको अगाडिको भागमा कालो रङमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा लेख्नुपर्नेछ ।

त्यस्ता उत्पादनको लेबलमा ‘घिउ’, ‘बेकरी सर्टेनिङ’ वा ‘वनस्पति घिउ’ जस्ता खाद्य उत्पादन जनाउने शब्द प्रयोग गर्नसमेत पाइने छैन ।

तर, खाद्य प्रयोजनका लागि उत्पादन गरिने घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङमा भने खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमका विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

खाद्य र अखाद्य उत्पादनबीच हुने मिश्रण तथा मिसावट, गलत लेबलिङ र गैरखाद्य पदार्थ खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने जोखिम रोक्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको विभागको भनाइ छ ।

विभागले निर्देशनविपरीत यस्ता चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com