काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम गत वर्षको असोज र चालु आवको भदौ महिनाको तुलनामा बढी हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि कारोबार रकम बढेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताएका छन्।
असोजमा निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो। द्विपक्षीय सम्झौताअन्तर्गत भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको हो।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ।
गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ कारोबार भएको थियो। चालु आवको भदौमा यस्तो कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो। यस वर्षको असोजमा गत वर्षको सोही महिनाभन्दा ९६ करोड २० लाख र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको छ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया