काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार मञ्च बाइनान्समा भएको साइबर आक्रमणबाट ६ अर्ब डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति चोरी भएको छ। क्रिप्टो बजारको इतिहासमै सबैभन्दा ठूलो चोरी मानिएको यस घटनापछि सुरक्षा निकाय र विभिन्न ब्लकचेन कम्पनीहरू रकम पत्ता लगाउन तथा नियन्त्रणमा लिन सक्रिय भएका छन्।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर रोक्का गर्न सफल भएको छ। बाँकी रकमको खोजी र कारोबार रोक्ने प्रयासमा क्रिप्टो कम्पनीका टोलीहरू जुटिरहेका छन्।
बाइनान्सको प्रारम्भिक अनुसन्धानले कम्पनीका एक इन्जिनियरको ल्यापटपमार्फत आक्रमणकारीले प्रणालीमा प्रवेश गरेको देखाएको छ। त्यसपछि उनीहरूले सर्भिस कन्टेनरमा पहुँच बनाएर अनधिकृत रूपमा डिजिटल सम्पत्ति बाहिर पठाएको कम्पनीले जनाएको छ।
घटनापछि बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको दाबी गरेको छ। चोरीबाट भएको क्षति कम्पनीको आफ्नै कोष र आपत्कालीन सम्पत्ति कोषबाट बेहोर्ने उसको भनाइ छ। सुरक्षा परीक्षण पूरा नभएसम्म निक्षेप र रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ। प्रभावित डिजिटल ठेगानाको अनुमति रद्द गर्नुका साथै रकम खोज्न प्रहरी र ब्लकचेन अनुसन्धान कम्पनीसँग सहकार्य भइरहेको बाइनान्सले जनाएको छ।
उत्तर कोरियाली ह्याकरमाथि आशङ्का
चोरीको परिमाण र त्यसको प्राविधिक स्वरूपले साइबर सुरक्षा अनुसन्धानकर्ताहरूको ध्यान खिचेको छ। क्रिप्टो बजार निर्माता कम्पनी जीएसआरका सिस्टम्याटिक ओटीसी व्यापार प्रमुख अरविन्द श्रीनिवासनले यसलाई क्रिप्टोकरेन्सी इतिहासकै ठूलो ह्याकिङ भएको बताएका छन्।
क्रिप्टो अनुसन्धान संस्था टीआरएम ल्याब्सले आफ्नो अन–चेन तथा अफ–चेन विश्लेषणका आधारमा आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकिङ समूह संलग्न रहेको दाबी गरेको छ। सिंगापुरस्थित प्याङ्गोलिन इन्टेलिजेन्स र अर्को अनुसन्धान संस्था चेनालिसिसले पनि उत्तर कोरियाली साइबर समूहको संलग्नता हुन सक्ने बताएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार चोरी भएको रकम बिटक्वाइन, इथेरियमलगायत विभिन्न ब्लकचेनमा सारिएको छ। रकमलाई नगदमा रूपान्तरण गर्न विभिन्न मध्यस्थ सञ्जाल प्रयोग हुन सक्ने उनीहरूको अनुमान छ। यद्यपि, आक्रमणको जिम्मेवारीबारे आधिकारिक पुष्टि भइसकेको छैन।
सीएनएनले यस विषयमा संयुक्त राष्ट्रसङ्घस्थित उत्तर कोरियाली मिसनसँग प्रतिक्रिया मागेको छ। प्योङयाङले विगतमा पनि यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो र सेक्रेट सर्भिससँग पनि प्रतिक्रिया मागिएको जनाइएको छ।
यसअघि बाइबिटबाट १.५ अर्ब डलर चोरी
उत्तर कोरियाली ह्याकरमाथि आशङ्का गरिएको यो पहिलो ठूलो क्रिप्टो चोरी भने होइन। यसअघि क्रिप्टोकरेन्सी एक्स्चेन्ज बाइबिटबाट करिब १.५ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको घटनामा पनि उत्तर कोरियाली ह्याकरहरूलाई दोषी ठहर गरिएको थियो।
अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरूका अनुसार उत्तर कोरियासँग सम्बन्धित साइबर समूहहरूले बैंक तथा क्रिप्टोकरेन्सी कम्पनीलाई निशाना बनाउँदै आएका छन्। विभिन्न अन्तर्राष्ट्रिय निकाय र निजी अनुसन्धान संस्थाका प्रतिवेदनमा यस्ता आक्रमणबाट पछिल्ला वर्षहरूमा अर्बौं डलर चोरी भएको उल्लेख छ।
क्रिप्टो बजारमा मूल्य घट्यो
बाइनान्समा भएको सुरक्षा उल्लङ्घनको खबर सार्वजनिक भएपछि सबैभन्दा बढी कारोबार हुने बिटक्वाइन र इथेरियमको मूल्यमा तीव्र गिरावट आएको छ। ठूलो परिमाणमा डिजिटल सम्पत्ति चोरी हुनुले क्रिप्टो कारोबारको सुरक्षा र विश्वसनीयतामाथि पुनः प्रश्न उठाएको छ।
परम्परागत शेयर कारोबार प्रणालीभन्दा फरक क्रिप्टोकरेन्सी एक्स्चेन्जले प्रयोगकर्ताका डिजिटल सम्पत्ति आफ्नै प्रणालीमा भण्डारण गर्ने गर्छन्। त्यसैले एक्स्चेन्जको सुरक्षा प्रणालीमा कमजोरी देखिँदा ठूलो रकम जोखिममा पर्न सक्छ। तुलनात्मक रूपमा नयाँ यस उद्योगमा नियमन र निगरानीको अवस्था पनि देशअनुसार फरक छ।
सन् २०१७ मा क्यानडाली नागरिक चाङपेङ झाओसहितले स्थापना गरेको बाइनान्स एक वर्षभित्रै विश्वकै ठूलो क्रिप्टो कारोबार मञ्च बनेको थियो। झाओले अमेरिकामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लङ्घन गरेको स्वीकार गरेपछि सन् २०२३ मा प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए। उनलाई चार महिना जेल सजाय भएको थियो। गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई माफी दिएका थिए।
हाल कम्पनीको दैनिक व्यवस्थापनमा संलग्न नरहेका झाओले पनि घटनाबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै प्रयोगकर्ताको रकम बाइनान्सले पूर्ण रूपमा बेहोर्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया