काठमाडौं । प्रहरीले देशका विभिन्न १३ जिल्लाबाट प्रतिबन्धित लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधि र अवैध हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट १०० ग्राम खैरो हेरोइनसहित रूपन्देहीका २८ वर्षीय प्रकाश थापा र सप्तरीका २२ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित भारतका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङका योगेन्द्र ठाकुर पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दीपककुमारले पेस्तोल निकालेर गोली चलाउन खोजेको प्रहरीले जनाएको छ। त्यसपछि भएको जवाफी कारबाहीमा दीपककुमार र पुरनकुमार घाइते भएका छन्। उनीहरूको रतुवामाई नगर अस्पतालमा उपचार भइरहेको छ।
मोरङकै रतुवामाई–१० बाट ट्रामाडोल र स्पास्पेनका ६६ र ८६ ट्याब्लेटसहित झापाका सुमन सुवेदी तथा मिक्लाजुङ–९ बाट ५४० मिलिग्राम खैरो हेरोइनसहित सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन्।
चितवनको भरतपुर–४ बर्मेली चोकबाट ६०३ ट्याब्लेट ऐनारगन, ६०३ ट्याब्लेट ट्रामाडोल र स्कुटरसहित अस्मिन कुइँकेलसहित दुई जना पक्राउ परेका छन्। भरतपुर–१५ प्रगति टोलबाट २ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन, ३१ ट्याब्लेट ट्रामाडोल र डिजिटल तराजूसहित नवीन गुरुङ र अमृत गुरुङ पक्राउ परेका छन्।
धनकुटा नगरपालिका–१ हिलेबाट २ ग्राम खैरो हेरोइनसहित सुरज तामाङ र शिशिर बस्नेत पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–६ लगनखेलबाट ७०५ ग्राम गाँजासहित भारतका गौतमकुमार र आलोक जैसवाल पक्राउ परेका छन्। झापाको कनकाई–४ बाट ७७० मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन्।
तनहुँको शुक्लागण्डकी–२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन, ३०० एम्पुल फेनारगन र मोटरसाइकलसहित पोखराका १९ वर्षीय उज्वल विक पक्राउ परेका छन्। बाँकेको बैजनाथ–५ बाट ५३० मिलिग्राम ब्राउनसुगरसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त–१९ बागफाटाबाट खैरो हेरोइनसहित लछु रानासहित चार जना तथा लालझाडी–१ बाट २ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित मनिष राना, श्रवण राना र रोहित राना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
त्यस्तै, सुनसरीको इटहरी–२ बाट १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित किशोर लिम्बू र बर्दियाको गुलरिया–११ बाट २०० मिलिग्राम ब्राउनसुगरसहित गोविन्द डाँगी पक्राउ परेका छन्। भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारबाट २०० ग्राम पोलेन र मोटरसाइकलसहित रामेछापका उमेश दियालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया