काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन्।
लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको शनिबार निरीक्षणपछि छलफल गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षण आवश्यक भएको बताए। उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।
कर्णालीका रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादन, माटोको उर्वराशक्ति र यहाँका परम्परागत कृषि उपज संरक्षण अपरिहार्य भएको मुख्यमन्त्री शाहीको भनाइ थियो। पर्याप्त मात्रामा जैविक मल उत्पादन, बिक्री वितरण गर्ने गरी अध्ययन र अनुसन्धान अगाडि बढाउन उनले निर्देशन दिए। रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीका रैथाने कृषि उत्पादन लोप हुने अवस्थामा पुग्नु राम्रो कुरा होइन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्छ। केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ।’
छलफलमा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देविनिधि तिवारीले केन्द्रले भोग्नुपरेको समस्याबारे जानकारी दिए। उनका अनुसार निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए पनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन। बीउ उत्पादन कार्यमा प्रदेश सरकारको थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिन्छ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया