काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियन्त्रण नरहेको टिप्पणी गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहलाई नेतृत्व र निर्देशन दिन नसकेको उल्लेख गर्दै बस्नेतले सरकारका विवादास्पद निर्णयमा पार्टी मूकदर्शक बनेको आरोप लगाए।

बस्नेतले प्रधानमन्त्री शाहले संसद्मा विवादास्पद अभिव्यक्ति दिएको, नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको, विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने तथा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको विषय उठाएका छन्।

त्यस्तै, निजी शिक्षा तथा स्वास्थ्य सेवामा कर लगाउने निर्णय र गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरी उनलाई पुनः जिम्मेवारीमा फर्काइएको विषयमा पनि रास्वपाले प्रश्न नउठाएको उनको आरोप छ।

रवि लामिछाने र रास्वपाले सरकारको बचाउ र समर्थनबाहेक केही गर्न नसकेको दाबी गर्दै बस्नेतले प्रधानमन्त्रीले गरेका निर्णय पार्टीले स्वीकार्नुको विकल्प नरहेको बताए।

पत्रकारमाथि भएको धरपकडबारे छानबिन गर्न रास्वपाले सरकारलाई दिएको निर्देशनप्रति पनि उनले प्रश्न उठाए। सरकार नै रास्वपाले नचलाएको अवस्थामा यस्तो निर्देशनको औचित्य नरहेको उनको टिप्पणी छ।

‘सरकार रास्वपाले चलाएकै छैन,’ बस्नेतले भने।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com