काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले सरकार स्वेच्छाचारी बनेको भन्दै त्यसविरुद्ध अन्य प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै पौडेलले कानुनी व्यवस्थालाई कमजोर बनाउँदै सरकार अघि बढेको आरोप लगाएका हुन् । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न पनि पार्टीले माग गर्नुपर्ने बताएका छन् ।

अदालतमा भएको भनिएको सेटिङ प्रकरणमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत जोडिएको विषयको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको माग छ । सरकारले आफैँले गर्ने छानबिन निष्पक्ष हुनेमा विश्वास गर्न नसकिने पौडेलको भनाइ थियो ।

उनले प्रतिपक्षी दल, संसद्, जनता र प्रेसमाथि सरकारले ज्यादती गरेको तथा राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइएको आरोपसमेत लगाए ।

कांग्रेस संसदीय दलको बैठक जारी छ । आफ्नो धारणा राखेपछि महामन्त्री पौडेल बैठकबाट बाहिरिएका छन् ।

प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com