काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीका सबै सांगठनिक गतिविधि विधान र लोकतान्त्रिक विधिअनुसार सञ्चालन हुने बताएका छन् । पार्टीभित्रको असहमति आन्तरिक विषय भएको उल्लेख गर्दै उनले त्यसको समाधान गर्न कांग्रेस आफैँ सक्षम रहेको दाबी गरेका छन् ।
कांग्रेसभित्र देखिएको मतभेदलाई लिएर लोकतन्त्रविरोधी शक्तिले खुसी मनाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पार्टीको वैधानिकता पुष्टि गर्न सत्ताको आडमा कसैले खडा गरेको व्यक्ति वा शक्तिको आवश्यकता नपर्ने उनले बताएका छन् ।
‘कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन,’ चालिसेले भनेका छन्, ‘लाखौँ सदस्यको अभिमत, सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो ।’
पार्टीभित्र विमति र असहमति हुनु स्वाभाविक भएको भन्दै उनले यस्ता विषय लोकतान्त्रिक प्रक्रियाबाटै टुंगिने बताएका छन् । कांग्रेसको आन्तरिक विषयमा अनावश्यक चासो राख्नुभन्दा सत्तापक्षले आफ्ना समस्या समाधान गर्नुपर्ने उनको टिप्पणी छ ।
चालिसेले कांग्रेसलाई क्षणिक प्रतिक्रिया वा उत्तेजनाका आधारमा बनेको भीडका रूपमा व्याख्या गर्न नमिल्ने पनि बताएका छन् । सामाजिक सञ्जालका अभिव्यक्ति र उत्तेजक भाषणले पार्टीको सिद्धान्त, इतिहास र राजनीतिक संस्कार निर्माण नभएको उनको भनाइ छ ।
कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उनले उल्लेख गरेका छन् ।
सत्ताको आडमा दबाइएका वा ओझेलमा पारिएका विषयमा कुनै दिन जवाफदेहिता खोजिने चेतावनी दिँदै चालिसेले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने बताएका छन् । निरंकुश शासकहरूको पतनको उदाहरण दिँदै उनले शक्ति स्थायी नहुने र अहंकारको आयु अझ छोटो हुने टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया