काठमाडौं । समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारमाथि सोधपुछ गरिएको घटनाबारे सरकारले प्रहरीको उक्त गतिविधि आन्तरिक सूचना चुहावटको अनुसन्धानसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीको आन्तरिक सूचना बाहिरिएको विषयमा तथ्य बुझ्न प्रहरीले सोधपुछ गरेको दाबी गरे ।
प्रहरीभित्रबाट प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना बाहिरिएको भन्दै उनले त्यसको स्रोत पहिचान गर्न प्रहरीले अनुसन्धान गरेको बताए ।
‘प्रहरीको आन्तरिक सूचना चुहावट भएको भन्ने विषयमा प्रकाशित समाचार कसरी आए भन्ने बुझ्न प्रहरीले जाँचबुझ गरेको हो । यसमा कसैसँग सल्लाह भएको भन्ने कुरा प्रहरीको आन्तरिक विषय हो,’ पोखरेलले भने ।
उनले समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनाबारे सरकारको पूर्ण अनुमति नरहेको र प्रधानमन्त्रीलाई समेत त्यसबारे पूर्वजानकारी नभएको दाबी गरे ।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । सरकार वा प्रधानमन्त्रीज्यूलाई यसबारे केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भन्दै सोधपुछका लागि गएको हो,’ उनले भने ।
घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले कुनै पनि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि पोखरेलले बताए ।
पत्रकारलाई गिरफ्तार वा नियन्त्रणमा लिइएको नभई सामान्य सोधपुछ मात्रै गरिएको उनको दाबी थियो ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया