काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा राखेको छ। मंगलबार सार्वजनिक गरिएका ती प्रचार सामग्रीमा ट्रम्पको आलोचनासँगै अमेरिकाविरुद्ध बदलाको सन्देश दिइएको छ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। त्यसमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका प्रचार सामग्री राखिँदै आएका छन्।

उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न आपत्तिजनक चित्र राखिएका छन्। एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा देखाइएको छ भने अर्कोमा उनको टाउकोमाथि अर्को व्यक्तिको खुट्टा रहेको चित्रण गरिएको छ। केही चित्रमा बम र विस्फोटसँग जोडेर उनलाई प्रस्तुत गरिएको छ।

प्रदर्शनीनजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ। त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन्। छेउको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यसमेत देखाइन्छन्।

इरानले अमेरिकी आक्रमणमा विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाइएको आरोप लगाउँदै आएको छ। ती घटनामा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको इरानको दाबी छ।

यता, मध्यपूर्वमा युद्ध पुनः चर्किन नदिन तेहरान र वासिङ्टनलाई वार्तामा ल्याउने कूटनीतिक प्रयास भइरहेका छन्। अमेरिकामा मध्यावधि निर्वाचन भइरहेका बेला ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन्।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ र भित्तेचित्र राख्ने परम्परा छ। यस्ता प्रचार सामग्रीमार्फत राजनीतिक सन्देश दिने, सहयोगीको प्रशंसा गर्ने र अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रप्रति आक्रोश व्यक्त गर्ने गरिन्छ।

  • एजेन्सी

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com