काठमाडौं । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको घरमा दुई दिनसम्म राखिएको दाबी सार्वजनिक भएको छ।

उच्च प्रहरी स्रोतले सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेपछि मात्र प्रहरीलाई फिर्ता गरेको दाबी गरेको छ। स्रोतका अनुसार मोबाइलको लोकेसन ट्र्याक गर्दा उक्त अवधिमा दुवै फोन बेनको ज्वागलस्थित घरमा रहेको पाइएको थियो।

प्रहरी स्रोतको दाबीअनुसार, मोबाइल फिर्ता भएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा उक्त अवधिमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको र विभिन्न सामग्रीका स्क्रिनसट लिइएको देखिएको छ।

त्यस्तै, मोबाइलमा रहेका केही सन्देश मेटाइएको समेत फरेन्सिक परीक्षणबाट खुलेको स्रोतको दाबी छ। मेटाइएका सन्देशमध्ये सापकोटा र बेनबीच आदानप्रदान भएका संवादसमेत रहेको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा बरामद गरिएका मोबाइल फोनलाई महत्त्वपूर्ण डिजिटल प्रमाणका रूपमा लिइन्छ। यस्तो प्रमाण फरेन्सिक परीक्षणअघि दुई दिनसम्म अनुसन्धानमा प्रत्यक्ष संलग्न प्रहरी निकायबाहिर राखिएको भन्ने दाबीले प्रमाणको सुरक्षित व्यवस्थापन, अनुसन्धानको प्रक्रिया र त्यसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

यद्यपि, मोबाइल फोन बेनको घरमा राखिएको, त्यस अवधिमा सामाजिक सञ्जाल प्रयोग भएको तथा सन्देश मेटिएको विषयमा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। यस विषयमा कुमार बेनको धारणा र प्रहरीको आधिकारिक स्पष्टीकरण आउन बाँकी छ।

 

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com