काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक लामो इतिहास बोकेको संगठनले गरेको भरोसा भएको बताएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न लगाएपछि पहिलो सम्बोधन गर्दै आइजिपी डा. केसीले प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्दै नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

आइजिपी डा. केसीले भने- ‘यो दर्ज्यानी चिह्न एक व्यक्तिको पदोन्नति मात्र होइन, नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसा पनि हो।’

उनले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा पूर्वप्रहरी नेतृत्वप्रति गहिरो सम्मान प्रकट गर्दै उनीहरूले बसालेको जग र मूल्यमान्यताबाटै आफ्नो यात्रा सुरु हुने बताए। साथै, कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

प्रहरीप्रति जनविश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको औंल्याउँदै उनले नागरिक-प्रहरी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए।

उनले भने, ‘नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून् र प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्। कर्तव्यबाट सुरु भएर सेवा प्रवाहसम्म पुग्ने यात्रा हामी आजैबाट सुरु गर्नेछौं।’

तल्लो तहका प्रहरी कर्मचारीहरूको मनोबल बढाउन आफू केन्द्रित रहने बताउँदै आइजिपी केसीले जवान र हवल्दारका गुनासो सिधै सुन्न सचिवालयमै छुट्टै संयन्त्र बनाउने घोषणा गरे।

सरुवा-बढुवामा निष्पक्षता, लामो कार्यघण्टाको व्यवस्थापन, स्रोत-साधनको अभाव र मानसिक स्वास्थ्यका समस्यालाई प्रणालीगत रूपमा समाधान गर्ने उनको भनाइ थियो।

अपराधको स्वरूप तीव्र गतिमा बदलिएको उल्लेख गर्दै उनले साइबर ठगी, क्रिप्टो कारोबार, वित्तीय अपराध, डिपफेक र भ्रामक सूचना नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए। साथै, लागूऔषध, मानव बेचबिखन र खुला सिमानाको दुरुपयोग रोक्न संगठनलाई थप चुस्त बनाइने उनले बताए।

आइजिपी डा. केसीले संगठनलाई राजनीतिक दलीय प्रभावबाट मुक्त राख्न, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता कायम गर्न गृह मन्त्रालयसँग सहकार्य गर्ने बताए।

आफ्नो कार्यकालको लक्ष्य प्रष्ट पार्दै उनले भने, ‘मेरो कार्यकालको मूल्याङ्कन मैले के पाएँ भन्दा पनि नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा हुनेछ। यसमा म कुनै सम्झौता गर्ने छैन।’

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This