काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्य विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार सान्तोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेकी हुन् ।

न्युयोर्क राज्यको १०३औँ विधानसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेकी श्रेष्ठले कुल मतको ६९.२ प्रतिशत अर्थात् ४० हजार ११४ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी लोपेजले ३०.८ प्रतिशत अर्थात् १७ हजार ८४० मत पाए । श्रेष्ठ २२ हजार २७४ मतको अन्तरले विजयी भएकी हुन् ।

सन् १९९६ अक्टोबरमा काठमाडौंमा जन्मिएकी श्रेष्ठको बाल्यकाल र प्रारम्भिक शिक्षा नेपालमै बितेको थियो । उनी सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका पुगेकी थिइन् । सन् २०१९ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि उनी त्यहाँको राजनीतिमा सक्रिय भएकी हुन् ।

जलवायु परिवर्तन, स्वच्छ ऊर्जा र वातावरण संरक्षणका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएकी श्रेष्ठ सन् २०२२ मा पहिलोपटक न्युयोर्क राज्य विधानसभामा निर्वाचित भएकी थिइन् । सन् २०२४ मा दोस्रो कार्यकालका लागि विजयी भएकी उनी यसपटक पनि निर्वाचित हुँदै लगातार तेस्रो जित निकाल्न सफल भएकी छन् ।

श्रेष्ठ अमेरिकी राज्य विधानसभामा निर्वाचित हुने नेपाली मूलकी पहिलो महिला हुन् । न्युयोर्क राज्य विधानसभामा पुग्ने उनी नेपाली मूलकी पहिलो विधायकसमेत हुन् ।

जलवायु नीति, आवास, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, श्रमिक अधिकार र बाल हेरचाह उनका प्रमुख राजनीतिक प्राथमिकताका विषय हुन् । उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com