काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । आठ दिनदेखि सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीका माग सम्बोधन गर्न तत्काल वार्ता अघि बढाउन आग्रह गरेका छन् ।
सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको र गलत नियुक्ति सच्याउनुपर्ने माग राख्दै डा. केसी सत्याग्रहमा बसेका हुन् । अघिल्लो सत्याग्रहका क्रममा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा त्यसविपरीत स्वार्थ बाझिने गरी स्वास्थ्य संस्थाहरूमा नियुक्ति गरिएको उनको आरोप छ ।
डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले थप जोखिम हुन नदिन सरकारले अविलम्ब वार्ताको वातावरण बनाउनुपर्ने संघले जनाएको छ । उनका जायज माग तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न पनि संघले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको हुँदा उहाँको जीवनरक्षाका लागि अविलम्ब वार्ता गर्ने वातावरण मिलाई उहाँले उठाउनुभएका जायज मागहरू तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
यसैबीच, डा. केसीको जीवनरक्षाका लागि आवश्यक कदमबारे छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे आफ्नो कार्यालयमा बैठक बोलाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था र जारी सत्याग्रहप्रति चिकित्सक संघले चासो व्यक्त गर्दै तत्काल समस्या समाधानका लागि सरकारलाई आग्रह गरेको हो ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया