काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका आन्तरिक निर्वाचनदेखि सार्वजनिक निर्वाचनसम्म उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सातबुँदे आचारसंहिता जारी गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको निर्देशनमा पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी तथा उम्मेदवार क्लबमा आबद्ध व्यक्तिहरूलाई निर्वाचनसम्बन्धी विधि र आचारसंहिता अनिवार्य रूपमा पालना गर्न भनिएको छ ।
आयोगले पार्टीको विधान, कार्यविधि र आधिकारिक निर्देशनविपरीत कुनै पनि तहमा अनधिकृत वा समानान्तर गतिविधि सञ्चालन गर्न रोक लगाएको छ । त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब तथा धम्कीका माध्यमबाट निर्वाचन प्रक्रियालाई प्रभावित पार्न नपाइने स्पष्ट पारेको छ ।
स्थानीय तहका उम्मेदवार छनोटबारे आयोगले उम्मेदवार क्लबमा आबद्ध हुनु वा उम्मेदवारीका लागि आवेदन दिनु नै टिकट पाउने सुनिश्चितता नभएको जनाएको छ । नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचनलगायतका प्रक्रिया पूरा गरेपछि मात्रै पार्टीले अन्तिम उम्मेदवार तय गर्नेछ ।
आयोगले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफूखुसी उम्मेदवारी घोषणा गर्ने र प्रचारप्रसार गर्ने कार्यलाई पनि निषेध गरेको छ । त्यस्तै, पार्टी अधिवेशनको आधिकारिक मिति र कार्यतालिका सार्वजनिक नभएसम्म नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्न तथा प्रचार गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
आचारसंहिताले निर्वाचनका क्रममा आर्थिक लेनदेन, उपहार, भोजभतेर, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोगलाई निषेध गरेको छ । पार्टीका आन्तरिक दस्तावेज, निर्णय, पत्राचार र व्यक्तिगत विवरण आधिकारिक स्वीकृतिबिना सार्वजनिक गर्न वा दुरुपयोग गर्नसमेत रोक लगाइएको छ ।
निर्देशन उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको गम्भीरताअनुसार उम्मेदवारी खारेज, निर्वाचन प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउने, निलम्बन तथा पार्टी सदस्यता समाप्त गर्नेसम्मको कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।
पद, पहुँच र प्रभावका आधारमा कसैलाई पनि कारबाहीबाट उन्मुक्ति नदिइने स्पष्ट पार्दै आयोगले पार्टीको निर्वाचन प्रणालीलाई अनुशासित र विधिसम्मत बनाउन सबैलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया