काठमाडौँ। सरकारले अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको विकास र प्रविधिमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि अवधारणापत्र आह्वान गरेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ बमोजिम विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कार्यमा लगानी गर्न मन्त्रालयअन्तर्गत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोष रहने व्यवस्था छ। सोही कोषबाट खर्च हुने गरी मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रमार्फत विभिन्न प्राविधिक क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी गरेको हो।
मन्त्रालयले औद्योगिक तथा कृषि औजार, उपकरण र मेसिनरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ। त्यस्तै, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ, ड्रोन तथा एरोनटिकल, आयुर्वेद, जडीबुटी तथा वन पैदावारसम्बन्धी क्षेत्रमा पनि विशिष्टीकृत केन्द्र स्थापना गर्न अवधारणापत्र माग गरिएको छ।
यसैगरी बायोमेडिकल इन्जिनियरिङ र कृषिजन्य फोहोरको मूल्यवर्धन सम्बन्धी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ।
उल्लिखित क्षेत्रबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रमा समेत केन्द्र स्थापनाका लागि अवधारणा पेस गर्न सकिने व्यवस्था गरिएको छ।
आह्वानअनुसार प्रस्तावित केन्द्रको स्थापना तथा सञ्चालनसम्बन्धी अवधारणापत्रसँगै अनुमानित लागतसमेत प्रस्तुत गर्नुपर्नेछ।
यस पहलले नेपालमा अनुसन्धान, प्रविधि विकास, व्यावहारिक आविष्कार तथा नवप्रवर्तनलाई संस्थागत गर्दै औद्योगिक उत्पादन, कृषि आधुनिकीकरण, स्वास्थ्य प्रविधि र स्वदेशी स्रोतसाधनको उपयोगमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया