काठमाडौं । मृत्युदण्ड कार्यान्वयनमा स्थगन लगाउन आह्वान गर्दै संयुक्त राष्ट्रसंघीय महासभामा प्रस्तुत प्रस्ताव पारित भएको छ। मेक्सिकोले पेस गरेको उक्त प्रस्ताव शुक्रबार महासभाबाट पारित भएको हो।
१९३ सदस्यीय महासभामा प्रस्तावको पक्षमा १३३ देशले मतदान गरेका थिए भने भारतसहित ३३ देशले विपक्षमा मत दिएका थिए। त्यस्तै, १६ देश मतदानमा सहभागी भएनन्।
भारतसँगै चीन, अमेरिका, जापान, पाकिस्तान, इरान, इराक, बहराइन, इजिप्ट, कुवेत, माल्दिभ्स, ओमान, कतार र साउदी अरेबियालगायत देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।
प्रस्तावमा मृत्युदण्डको निरन्तर प्रयोगप्रति चिन्ता व्यक्त गर्दै यसको अन्त्य गर्ने उद्देश्यसहित कार्यान्वयनमा स्थगन लगाउन सबै सदस्य राष्ट्रलाई आग्रह गरिएको छ। मृत्युदण्ड उन्मूलन गरिसकेका देशलाई पुनः यो सजाय लागू नगर्न पनि आह्वान गरिएको छ।
विश्वव्यापी रूपमा मृत्युदण्डको प्रयोग सीमित हुँदै गएको भए पनि सन् २०२५ मा यसको कार्यान्वयन भएका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै प्रस्तावमा चिन्ता जनाइएको छ।
त्यस्तै, मृत्युदण्डको प्रयोग क्रमशः सीमित गर्न र अपराध गर्दाका बेला १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई यस्तो सजाय नदिन आग्रह गरिएको छ। उमेर यकिन गर्न नसकिने अवस्थामा पनि यो प्रतिबन्ध लागू हुनुपर्ने प्रस्तावमा उल्लेख छ।
गर्भवती महिला, मानसिक वा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई मृत्युदण्ड नदिन पनि सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ। यसका साथै अनिवार्य मृत्युदण्डको व्यवस्था अन्त्य गर्न र मृत्युदण्ड दिन सकिने अपराधको दायरा घटाउन प्रस्तावले जोड दिएको छ।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया