काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनको जिम्मेवारी पाए पनि प्रभावकारी रूपमा काम गर्न नसके त्यसको प्रत्यक्ष असर देश र जनताले भोग्नुपर्ने बताएका छन् । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसले पनि आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारेका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र जिम्मेवार ढंगले निर्वाह गर्ने बताए । निर्वाचनबाट जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको उल्लेख गर्दै उनले सरकार सञ्चालनको जिम्मेवारी रास्वपाको भए पनि सरकार सही बाटोमा हिँडिरहेको छ कि छैन भन्ने विषयमा कांग्रेस सचेत रहने धारणा राखे ।

थापाले कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले घेराबन्दी र षड्यन्त्र भइरहेको भन्ने चर्चालाई सामान्य रूपमा लिनुपर्ने बताए । विगतमा पनि यस्ता चुनौती सामना गर्दै आएको उल्लेख गर्दै उनले पार्टीले सबै अवरोध चिर्दै अघि बढ्ने दाबी गरे ।

उनका अनुसार कांग्रेसको प्रमुख चासो सत्ता प्राप्ति नभई देशको समय खेर जान नदिनु र जनतालाई थप दुःखबाट जोगाउनु हो । आगामी पाँच वर्ष मुलुकका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले यो अवधिलाई राजनीतिक खिचातानीमा नभई देशको विकास र जनताको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

छठ पर्वसँग आफ्नो राजनीतिक तथा व्यक्तिगत सम्बन्धबारे चर्चा गर्दै थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती क्षेत्रमा मात्रै छठ पर्व मनाउने गरिएको उनको भनाइ थियो ।

दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको स्मरण गर्दै उनले यस वर्ष आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए । पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही फर्किएर निर्वाचन क्षेत्रका सबै गाउँ पुग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसैबीच, थापाले कांग्रेसको आगामी संगठनात्मक गतिविधिबारे जानकारी दिँदै पुसको पहिलो सातासम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने र त्यसपछि प्रदेश अधिवेशन अघि बढाउने तयारी रहेको बताए ।

उनका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मितिबारे थप स्पष्टता आउने उनको भनाइ छ ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै थापाले सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकताबद्ध रूपमा परिचालन गर्ने पनि बताए ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This