काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको साइबर अपराधसम्बन्धी मुद्दामा काभ्रे जिल्ला अदालतले पुनः पेस गरिएका प्रमाणबारे प्रतिवादीलाई जानकारी गराउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार जाहेरवाला गौतमले अडिओलगायतका प्रमाणसहित पेस गरेको निवेदन र जिल्ला सरकारी वकिल कार्यालयको पत्रबारे सुनारलाई जानकारी गराउन आदेश दिएको हो। अदालतले आवश्यक प्रक्रिया पूरा गरी मिसिल पेस गर्नसमेत भनेको छ।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाइएका अडिओलगायतका प्रमाण मुद्दाको मिसिलबाट हराएका थिए। प्रमाण हराएपछि जाहेरवाला गौतमले गत असोज १५ गते पुनः निवेदन दिँदै ती प्रमाण सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाएकी थिइन्।
गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनारले आफूलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको तथा आफ्नो तस्बिर र मोबाइल नम्बर सार्वजनिक गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी विद्युतीय कारोबार ऐनअन्तर्गत सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
यसअघि अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पछि अदालतमा उपस्थित भएका उनी बयान र थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।
मुद्दा विचाराधीन रहेकै अवस्थामा मिसिलबाट अडिओलगायतका प्रमाण हराएपछि जाहेरवाला पक्षले ती प्रमाण पुनः अदालतमा पेस गरी प्रमाणीकरण तथा अभिलेखीकरणको माग गरेको थियो।
अदालतको पछिल्लो आदेशसँगै पुनः पेस गरिएका प्रमाणबारे प्रतिवादी सुनारलाई जानकारी गराउने प्रक्रिया अघि बढ्ने भएको छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया