काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टीलाई नयाँ सोच, ऊर्जा र कार्यशैलीसहित अघि बढाउने प्रतिबद्धतासहित महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् ।
शाहीले कांग्रेसभित्र मौलाउँदै गएको गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ र अवसरवादी राजनीतिक संस्कारको अन्त्य गर्दै पार्टीलाई विचार, सिद्धान्त र जनसेवामा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याउदैं आएका छन्। पार्टीको नेतृत्व र संगठनात्मक संरचनामा समयानुकूल परिवर्तन गर्दै कार्यकर्ता तथा आम नागरिकको भावनालाई प्रतिनिधित्व गर्ने कांग्रेस निर्माण आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका शाहीले नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवारी दिएका थिए भने २०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए। २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापति पदमा पनि उनले प्रतिस्पर्धा गरेका थिए।
पार्टी संगठनलाई केन्द्रमा मात्र सीमित नराखी गाउँबस्तीसम्म विस्तार गर्नुपर्ने मान्यतासहित शाहीले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। २०८० जेठ ११ गतेदेखि मेची–महाकाली संगठन निर्माण अभियान सुरु गरेका उनले देशका विभिन्न जिल्ला तथा बस्तीमा पुगेर कार्यकर्तासँग संवाद र संगठन विस्तारलाई प्राथमिकता दिदै आएका छन्।
त्यसैगरी, कर्णाली प्रदेशको विकट भूगोलमा पार्टीको उपस्थिति बलियो बनाउने उद्देश्यले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्म संगठन सुदृढीकरण यात्रा सञ्चालन गरेका थिए। दुर्गम क्षेत्रका कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै संगठनमा नयाँ उत्साह र भरोसा जगाउने प्रयास उक्त अभियानको उद्देश्य उनले बताए ।
युवाका सवाललाई राष्ट्रिय राजनीतिको मूल बहसमा स्थापित गर्न उनले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा पनि सञ्चालन गरेका थिए। यात्राका क्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, कृषिमा युवाको सहभागिता र नागरिकमैत्री शासन व्यवस्थाका समेत विषयहरु उठाइएका थिए।
शाहीले कांग्रेसलाई सत्ताको वरिपरि केन्द्रित नभई जनताको सुखदुःखसँग जोडिएको पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन्। पार्टीभित्र अवसरको समान वितरण, न्यायपूर्ण व्यवहार र विधि तथा विधानको पूर्ण पालना हुनुपर्ने उनको धारणा छ।
बदलिँदो राजनीतिक परिवेश र सूचना प्रविधिको तीव्र विकाससँगै कांग्रेसले नयाँ पुस्ताको सोच तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्। परम्परागत राजनीतिक शैली र पुरानै कार्यप्रणालीबाट पार्टीको भविष्य सुनिश्चित नहुने भन्दै उनले नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया र संगठन सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने मत राख्दै आएका छन्।
महामन्त्री पदमा उम्मेदवारी घोषणासँगै शाहीले संगठन निर्माण, युवा नेतृत्वको विकास र पार्टीको वैचारिक तथा सांगठनिक रूपान्तरणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएका छन्। आगामी महाधिवेशनबाट कांग्रेसलाई जनताप्रति उत्तरदायी, कार्यकर्तामैत्री र समयको आवश्यकता बुझ्ने पार्टीका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व परिवर्तनसँगै पार्टीको भावी दिशा तय गर्ने बहस चलिरहेका बेला शाहीको उम्मेदवारीले युवा पुस्ताको प्रतिनिधित्व, संगठनात्मक सुधार र पुस्तान्तरणको मुद्दालाई थप चर्चामा ल्याएको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया