काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालयनजिक भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्। मृत्यु हुने र घाइतेमध्ये ९७ प्रतिशत विद्यालयका विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले जनाएको छ।
शनिबार प्रान्तीय राजधानी असदाबादस्थित शागी माध्यमिक विद्यालयनजिक विस्फोट भएको हो। विद्यालय छेउको एक घरमा खानी उत्खनन तथा कुनार–नुरिस्तान राजमार्ग निर्माणका क्रममा चट्टान फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ तयार पार्ने काम भइरहेको थियो।
विस्फोटको कारण खुल्न सकेको छैन। खानी कम्पनीको स्वामित्वमा रहेको उक्त स्थानमा विस्फोटक पदार्थ भण्डारण तथा तयारी गर्दा भएको लापरबाहीका कारण घटना भएको हुन सक्ने आशंकामा स्थानीय अधिकारीहरूले अनुसन्धान थालेका छन्।
विस्फोटबाट विद्यालय भवनमा समेत क्षति पुगेको छ। झ्यालका सिसा फुट्नुका साथै छतका केही भाग खस्दा कक्षाकोठामा रहेका विद्यार्थी घाइते भएका थिए। घटनापछि विद्यालय परिसरमा विद्यार्थीका पुस्तक, कापी, कलम र जुत्ता छरिएका थिए।
घाइतेहरूलाई कुनार प्रान्तीय अस्पतालमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइतेलाई थप उपचारका लागि छिमेकी नान्गरहार प्रान्तको अस्पताल पठाइएको छ। सामान्य घाइते केही उपचारपछि घर फर्किएका छन् भने अस्पतालमा रहेका अन्यको अवस्था सन्तोषजनक रहेको अधिकारीहरूले बताएका छन्।
अफगानिस्तानको शिक्षा मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ। मन्त्रालयले घाइते विद्यार्थीको उपचार र प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पूर्वराष्ट्रपति हमिद कारजाईले पनि घटनाको निन्दा गर्दै घाइतेको तत्काल उपचार गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया