काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अचेल सम्बन्ध ठीकठाक नरहेको चर्चा चल्ने गर्छ । हुन पनि बालेनले बेलाबखत लामिछानेलक्षित आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका हुन्छन् ।
पछिल्लो पटक चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणमा पनि यी दुई नवनेताबीच मतभिन्नता देखिएको छ । भुटानी शरणार्थी प्रकरणपछि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनमा रवि लामिछाने सडकमा ओर्लेका छन् । तर बालेन भने सडकमा आन्दोलन गर्नका लागि कसैलाई जनताले नेता नबनाएको टिप्पणी गर्छन् ।
भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति बालेनले विमति जनाएका छन् । उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनुभन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन लाग्नुपर्ने सुझाव दिएका छन् ।
भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको भन्दै बालेनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न पनि आह्वान गरेका छन् । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।
लामिछानेलाई लक्षित गरेर बालेनले भनेका छन्, ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार













प्रतिक्रिया