तनहुँ । श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो ।
हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमान्लाई सार्वजनिक गरेको छ ।
मृतक व्यास नगरपालिका–१२ लामीडाँडा माइती भएकी २२ वर्षीया रंगिला भुजेल रहेको प्रहरीले बताएको छ । रंगिलाका बुबा मनबहादुर भुजेलले मंगलबार तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित हुलियाको निवेदन दिएका थिए ।
प्रहरी उपरीक्षक विष्टले भने, ‘२०८० जेठ २४ गतेदेखि छोरी सम्पर्कविहीन रहेको भनी मनबहादुरले हुलिया निवेदन दिएका थिए । त्यही दिनको साढे ११ बजे शव भेटिएपछि मनबहादुरले शवको पहिचान गरेका हुन् ।’
प्रहरीले रंगिलाका श्रीमान्लाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । पक्राउ परेका मनोजविरुद्ध जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
मनोज र मृतक रंगिला समाजिक सञ्जालमार्फत भेट भई प्रेम सम्बन्धमा थिए । उनीहरूले २०८० वैशाख १ गते विवाह गरेका थिए । मृतक रंगिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्-श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको छ । मनोजले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार
प्रतिक्रिया