दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुविन्डेमा तोकिएपछि असन्तुष्ट वडाअध्यक्षले कार्यालयमा तोडफोड गरेका छन् ।

कालिञ्चोक गाउँपालिका–५ लापिलाङका वडाअध्यक्ष सहदेव खड्काले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका हुन्।

advertisement

 

खड्का एक्लै कार्यकारी अधिकृत ओलीको कार्यकक्षमा पुगेर कुर्चि, सोफा, कम्युटर लगायतका सामान फालेको गाउँपालिकाकी शाखा अधिकृत रोशनी आचार्यले जानकारी दिईन । उनका अनुसार कार्यकारी खै ? भन्दै कार्यालयमा प्रवेश गरेका वडाध्यक्ष खड्का तोडफोड गरेपछि निस्किएर हिँडेका थिए । कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पनि वडाध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमा तोडफोड गरेको बताए । गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डेमा तोकिएपछि वडाध्यक्ष खड्का असन्तुष्ट थिए ।

खड्का पालिकाको स्थायी केन्द्र तोक्न सोमबार भएको मतदानको पक्ष वा विपक्षमा नउभिई तटस्थ बसेका थिए । उनी सहित वडा नम्बर ५ का चार जना वडासदस्य तटस्थ बसेका थिए । पालिकाको स्थायी केन्द्र अपायक भएको भन्दै असन्तुष्ट देखिएका खड्काले सोही विषयलाई लिएर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ओलीको कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । ओली कार्यकक्षमा नभएका बेला वडाध्यक्षले उनको कार्यकक्ष तोडफोड गरेका हुन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com