काठमाडौं । गोरखामा ५२ किलो तौलको टल्कने ढुंगा प्रहरीले जफत गरेको विषयले अहिले निकै चर्चा पाइरहेको छ।

गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट प्रहरीले बरामद गरेको पारदर्शी ढुंगा क्रिस्टल क्वार्ज रहेको बुधबार पुष्टि भइसकेको छ।

शाही परिवारले उक्त ढुंगालाई वर्षौंदेखि देवता मानेर पुज्दै आएका थिए। धार्मिक आस्थासँग जोडिएको विषय भएकाले उक्त ढुंगा काठमाडौं पठाउन नमिल्ने भनेपछि खानी तथा भूगर्भ विभागका कर्मचारी नै गोरखा पुगेर जाँच गरेका थिए।

भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले दुई दिन लगाएर बुधबार परीक्षण सकाउँदा उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको हो। विभागले उक्त धातुलाई बहुमूल्य पनि भनेको छ।

क्वार्ज  क्रिष्टल रहेको पुष्टि भएपछि विभागले त्यसलाई काठमाडौं ल्याउने तयारी थालेको छ।

विभागले बहुमूल्य भनेको ढुंगाको मूल्य कति हो? भन्नेबारे विभिन्न अनुमान भइरहेका छन्। करोडौं मूल्य पर्ने भएकाले  सरकारले संग्रहालयमा राख्न लागेको विषयहरू पनि आएका छन्।
टल्कने ढुंगाको मूल्य कति होला भन्ने चर्चा गर्नुअघि खानी तथा खनिज पदार्थ नियमावली २०५६ हेरौं। नियमावलीको अनुसूची १ ले नेपालमा पाइने खनिज पदार्थलाई धातु खनिज र अधातु खनिजमा वर्गीकरण गरेको छ। क्वार्ज क्रिष्टल अधातु खनिजमा पर्छ।

अनुसुची १ (२)मा खनिज पदार्थलाई तीन तहमा वर्गीकरण गरिएको छ। जसमा अति महत्वपूर्ण, महत्वपूर्ण तथा बहुमूल्य र  सामान्य खनिज छन्। क्वार्ज क्रिष्टल महत्वपूर्ण तथा बहुमूल्य खनिजमा पर्छ।

क्वार्ज क्रिष्टलसँगै जस्ता, चाँदी, सिसा, कोबाल्ट, निकल, टिन, टंगस्टन, म्याग्नेसाइट लगायतका खनिज पनि महत्वपूर्ण तथा बुहमूल्यमा पर्छन्।

सामान्य खनिजमा नुन, गेरू, औद्योगिक माटो, साधारण माटो, सिलिका बालुवा, केओलिन,  अभ्रख, ग्रेनाइट,  बालुवा गिट्टी लगायतका खनिज पदार्थहरू पर्छन्।

सुन, हिरा, रूबी, युरेनियम, प्लाटिनियम लगायतका खनिज पदार्थहरू अति महत्त्वपूर्ण खनिज पदार्थमा पर्छन्।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com