काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले एक सयदिनको अवधिमा गर्वभती तथा सुत्केरी महिलाको हवाई उद्धारसँगै हराएका बालबालिकालाई अभिभावकसँग पुनःमिलाउन गराउन मन्त्रालय सफल भएको बताए।

उनले पद बहाली गरेको आज एक सयदिन पूरा भएको छ। सय दिनको अवधिमा आफूले गरेका नीतिगत तथा व्यवहारिक कामबारे जानकारी दिँदै उनले भने, “नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्धार गरिएको छ।”

advertisement

मन्त्री आचार्यका अनुसार हराएका एक हजार सात सय ४९ जना बालबालिकामध्ये एक हजार छ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनःमिलन गराएको छ। बेवारीसेरुपमा फेला परेका ९२ जना बालबालिकामध्ये ५६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ। विभिन्न कारणले जोखिममा परेका चार सय ३० जना बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए।

मन्त्री आचार्यले जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क बिन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्धसमेत जोडेको बताए।

उनका अनुसार सातै प्रदेशमा वृद्धा स्याहार–सुसारसम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। यस अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमती प्रदेशको काठमाडौँ र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको मन्त्रालयले जनाएको छ।

बाल संरक्षण तथा बालबालिकासम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनको लागि सफ्टवेयरको निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। त्यस्तै महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र  सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ।

यस्तै विराटनगर र कैलालीमा मानवबेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरिएको र पोखरा, नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीलाई जेल जीवन तथा जेल जीवनपश्चातको जीवन परिवर्तनको लागि सामाजिक सचेतनासहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सो अवधिमा ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा, मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा, मानवबेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा र अपाङ्गता हेरचाहसम्बन्धी आधारभूत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार गरेको प्रगति विवरणमा उल्लेख छ।

प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com