काठमाडौं । विश्व क्रिकेटको पावर हाउस भारतले एसिया कपमा यदि नेपालसँग हारे समूह चरणबाटै बाहिरिने भएको छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेकोछ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ ।

तर एसोसिएट टोली नेपालले जित हात पार्न जादुमयी प्रदर्शन गर्न बाहेक अन्य कुनैपनि विकल्प छैन । वर्षाको कारण रद्द हुँदा भने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ ।

शनिबार पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाललाई फाइदा भएको हो । पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो।

एक समय ६६–४ को अवस्थामा पुगेपनि हार्दिक पान्ड्या र शुभमन गिलले पाँचौं विकेटका लागि १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । उक्त खेलमा भारत पराजित भएको भए नेपालाई अझ फाइदा पुग्न जान्थ्यो ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन्।

सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com